प्रधानमन्त्रीलाई मनिष झाकाे मालिस् : म सरकारकाे साथमा छु

अ+
अ
अ-

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले प्रधानमन्त्री बालेन्द्र शाहलाई आफू एक्लो नभएको भन्दै सरकारलाई साथ रहेको बताएका छन्।

प्रधानमन्त्री शाहले आफू ‘एक्लै बाटो हिँडिरहेको’ आशयको अभिव्यक्ति सामाजिक सञ्जालमार्फत दिएपछि सांसद झाले त्यसको प्रत्युत्तर दिँदै जनादेशबाट बनेको सरकार सामूहिक भएको बताएका हुन्।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सरकारको कामकारबाहीप्रति खुलेर टिप्पणी गरेका झाले प्रधानमन्त्री शाहलाई सरकारको कार्यशैलीमा केही सुधार आवश्यक रहेको भए पनि सरकारको नियत र आशयप्रति आफूहरूको कुनै शङ्का नरहेको स्पष्ट पारे।

झाले भने, ‘सरकारको काम गर्ने शैलीमा केही परिवर्तन गर्नुपर्ने छ भनेको हुँ। हिजो सदनमा भनेको कुरा जस्तै हाम्रो नियत र आशयमा शङ्का छैन। सुधार्नुपर्ने कुराहरू केही छन्। हामीले जनमत पाएका छौँ, म सरकारको साथमा छु। यहाँ कोही एक्लो छैन।’

उनले प्रधानमन्त्री शाहलाई जनादेशबाट बनेको सरकार सामूहिक जिम्मेवारीमा अघि बढ्ने भएकाले आफू एक्लो भएको महसुस नगर्नसमेत सन्देश दिएका छन्। सांसद झा रास्वपाको केन्द्रीय महाधिवेशनमा महामन्त्री पदका प्रत्याशीसमेत थिए।