काठमाडौ । नेपाल संगीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानको उपकुलपति पदमा गायिका झुमा लिम्बू नियुक्त हुनु भएको छ। लिम्बू नेपाली तारा पहिलाेमा उत्कृष्ट १० प्रतिस्पर्धी हुनुहुन्थ्यो । हाल “धान सुक्याे रापले ,फकाउँछ काफ्ले´´ बाेलकाे मौलिक गीत गाएर चर्चामा हुनुहुन्छ । उहाँलाई रैथाने संगीतकी सशक्त सर्जक झुमा लिम्बूको नामले चिन्ने गरिन्छ। तिनै रैथाने तथा मौलिक नेपाली संगीतकी सर्जक झुमा लिम्बूको सांगीतिक यात्रा अहिले सफलताको स्वर्णकालमा पुगेको छ।
लिम्बू समुदायको परम्परागत धान नाचबाट सांगीतिक यात्रा सुरु गरेकी लिम्बूले रेडियो नेपालको स्वर परीक्षा उत्तीर्ण गरेपछि औपचारिक रूपमा संगीत क्षेत्रमा प्रवेश गरेकी हुन्। उनले वरिष्ठ संगीतज्ञ अम्बर गुरुङलगायतबाट संगीत प्रशिक्षणसमेत लिएकी छन्।
मुन्धुमलाई आधार बनाएर सन् २०१४ मा ‘खासाम’ एल्बम सार्वजनिक गरेकी उनले रैथाने संगीतको संरक्षणसँगै नयाँ प्रयोग र अनुसन्धानलाई समेत निरन्तरता दिएकी छन्। गोरुको छालाबाट ‘ढेला’ नामक नयाँ वाद्ययन्त्र निर्माण गर्नु उनको नवप्रवर्तनको उदाहरण हो।
‘रैथाने’ ब्यान्डमार्फत नेपाली मौलिक संगीतलाई अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्याएकी लिम्बूले बेलायतको टेम्ससाइड थिएटरमा ‘साउन्ड्स अफ मुन्धुम’ समेत प्रस्तुत गरिसकेकी छन्।
दुई दशकभन्दा बढी समयदेखि संगीत क्षेत्रमा सक्रिय लिम्बूले ३२ भन्दा बढी पुरस्कार तथा सम्मान प्राप्त गरिसकेकी छन्। उनका सिर्जना, अनुसन्धान र अभियानले नयाँ पुस्तालाई नेपाली मौलिक संगीत र संस्कृतिप्रति गौरव गर्न प्रेरित गरिरहेका छन्।


