नेपाली संगीतका अग्रज स्रष्टा अशोक राईको निधन

+
-

काठमाडौं । नेपाली संगीत क्षेत्रमा लामो समयदेखि योगदान पुर्‍याउँदै आउनुभएका अग्रज गायक तथा संगीतकर्मी अशोक राईको निधन भएको छ। ८९ वर्षीय राईको शुक्रबार भारतको सिलगढीमा निधन भएको हो।

भारतको सिलगढीमा बस्दै आउनुभएका राईको दार्जिलिङमा उहाँको जातीय परम्पराअनुसार अन्त्येष्टि गरिएको छ। उहाँका श्रीमती, तीन छोरा र तीन छोरी छन्।

राईले सन् १९६० को दशकमा ‘बैसाखी बनमा फूलको श्रृङ्गार, पातको क्रन्दन छ’ भन्ने गीतबाट आफ्नो सांगीतिक यात्रा सुरु गर्नुभएको थियो। नेपाली गीत–संगीत क्षेत्रमा लामो समय सक्रिय रहनुभएका उहाँका ‘फूलको प्रीति’, ‘गीताङ्गे दाइ’, ‘हाम्रो जोवन’, ‘जा सन्देश’, ‘हामीलाई घाम’ र ‘अल्झिरहेको छ’ लगायतका चर्चित रचनाहरू रहेका छन्।

प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको विकास र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउनुभएका राईलाई नेपालमा सञ्चालन हुँदै आएको सांगीतिक कार्यक्रम ‘पलेटी’ मा समेत सहभागी हुन निम्तो दिइएको थियो ।