काठमाडौँ । प्रतिनिधि सभा सदस्य बदन कुमार भण्डारीले सुनकोशी नदीमा हामफालेर बेपत्ता भएका दम्पतीको कारुणिक घटनाबारे संसद्मामा सरकारको ध्यानाकर्षण गराउनुभएको छ। आज बसेको प्रतिनिधी सभा बैठकमा सभामुखमार्फत उहाँले उपचार नपाएर नागरिकले ज्यान गुमाउनुपर्ने अवस्था किन सिर्जना भयो भन्दै सरकारलाई प्रश्न गर्नुभएको हो।
उहाँले काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकाका केदारनाथ पराजुलीले बोनम्यारो क्यान्सर पीडित श्रीमतीलाई लिएर नदीमा हामफाल्नु भयो । उपचार नपाएर अन्ततः मृत्यु रोज्नुपर्ने दुःखद अवस्था आएको छ। उहाँले यो घटना राज्यले नागरिकको स्वास्थ्य सेवामा पर्याप्त पहुँच सुनिश्चित गर्न नसकेको तीतो यथार्थ भएको टिप्पणी गर्नुभयो।
“बोनम्यारोको उपचार नेपालमा महँगो छ, र सर्वसाधारणको पहुँचमा छैन,” भण्डारीले भन्नुभयो, “सरकारी अस्पताल र शिक्षण अस्पतालमा समेत सेवा सुचारु छैन। अन्त उपचारको विकल्प छैन, विदेश जानुपर्ने बाध्यता छ।”
उहाँले सिभिल अस्पताललगायतका स्वास्थ्य संस्थामा समेत यस्तो उपचार नागरिकको पहुँचभन्दा बाहिर रहेको उल्लेख गर्दै सरकारले स्वास्थ्य सेवामा सुधारको दाबी गरे पनि नागरिक उपचार नपाएर मर्न बाध्य हुँदा किन मौन बसिरहेको भन्ने प्रश्न उठाउनुभयो।
“सरकार कहाँ छ?” भन्दै उहाँले संसद्मार्फत सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभएको थियो। भण्डारीले यस्ता घटनाले स्वास्थ्य प्रणालीको कमजोर अवस्था उजागर गरेको बताउँदै तत्काल प्रभावकारी कदम चाल्न सरकारसँग माग गर्नुभयो।


