काठमाडौं । खुद ब्याज आम्दानीमा गिरावट आउनुका साथै इम्पेयरमेन्ट चार्जमा उल्लेख्य वृद्धि भएपछि कृषि विकास बैंक लिमिटेडको नाफामा कमी आएको छ।
बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म २ अर्ब ६३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको जनाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २९.५२ प्रतिशतले कम हो। अघिल्लो वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ७३ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।
बैंकको खुद ब्याज आम्दानी ३.४५ प्रतिशतले घटेर ९ अर्ब ९२ करोड रुपैयाँमा सीमित भएको छ। समीक्षा अवधिमा बैंकको सञ्चालन आम्दानी १० अर्ब ४ करोड रुपैयाँ र सञ्चालन मुनाफा ३ अर्ब ४४ करोड रुपैयाँ रहेको छ।
बैंकको नाफामा दबाब सिर्जना गर्ने प्रमुख कारण भने इम्पेयरमेन्ट चार्जमा भएको वृद्धि देखिएको छ। सम्भावित कर्जा जोखिम व्यवस्थापनका लागि बैंकले समीक्षा अवधिमा १ अर्ब १७ करोड १० लाख रुपैयाँ इम्पेयरमेन्ट चार्ज छुट्याएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो रकम ६३ करोड रुपैयाँ मात्र थियो।
निक्षेप र कर्जा विस्तार
नाफामा गिरावट आए पनि बैंकको निक्षेप तथा कर्जा विस्तार भने सकारात्मक देखिएको छ। एक वर्षको अवधिमा बैंकको कुल निक्षेप २ खर्ब १३ अर्ब रुपैयाँबाट बढेर ३ खर्ब ४७ अर्ब रुपैयाँ पुगेको छ।
त्यसैगरी, बैंकको कर्जा प्रवाह २ खर्ब १२ अर्ब रुपैयाँबाट बढेर २ खर्ब ४७ अर्ब रुपैयाँ पुगेको छ।
तर, बैंकको खराब कर्जा अर्थात् एनपीएल अनुपात भने बढेको छ। अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म ३.४४ प्रतिशत रहेको एनपीएल समीक्षा अवधिमा बढेर ४.०७ प्रतिशत पुगेको बैंकले जनाएको छ।
लाभांश वितरण क्षमता घट्यो
बैंकको वितरणयोग्य मुनाफामा समेत उल्लेख्य गिरावट आएको छ। अघिल्लो आर्थिक वर्षमा २ अर्ब ५८ करोड रुपैयाँ रहेको वितरणयोग्य मुनाफा समीक्षा अवधिमा घटेर १ अर्ब २६ करोड रुपैयाँमा सीमित भएको छ।
यससँगै बैंकको लाभांश वितरण क्षमता पनि घटेको छ। अघिल्लो वर्ष १७.१८ प्रतिशत रहेको लाभांश वितरण क्षमता समीक्षा अवधिमा घटेर ६.५४ प्रतिशतमा झरेको बैंकले जनाएको छ।
समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) १६.११ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २ हजार ८१३.६९ रुपैयाँ तथा तरलता अनुपात ३७.४५ प्रतिशत कायम रहेको छ।


