नेपाल दलित संघको नाम दुरुपयोग नगर्न आग्रह, अनधिकृत गतिविधिमा सहभागी नहुन अपिल

अ+
अ
अ-

काठमाडौं, नेपाल दलित संघको केन्द्रीय कार्यसमितिले आफ्नो नाम र संगठनको आधिकारिक हैसियत दुरुपयोग गरी भइरहेको गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

अध्यक्ष विपिन रामुदास (विपिन) द्वारा जारी विज्ञप्तिमा नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भई निर्वाचन आयोग र सर्वोच्च अदालतबाट समेत अनुमोदित भइसकेको अवस्थामा सोही कार्यसमितिले पार्टीको नीति तथा कार्यक्रमअनुसार काम गरिरहेको उल्लेख गरिएको छ।

विज्ञप्तिमा नेपाल दलित संघको विधानअनुसार निर्वाचित तथा वैधानिक नेतृत्व बाहेक अन्य कुनै समूह वा व्यक्तिलाई संघको नाम प्रयोग गरी कुनै पनि समिति गठन गर्ने वा गतिविधि सञ्चालन गर्ने अधिकार नरहेको स्पष्ट पारिएको छ।

त्यस्तै, नेपाल दलित संघका केन्द्रीय अध्यक्षको अध्यक्षतामा २५१ सदस्यीय राष्ट्रिय भेला आयोजक समिति गठन गरिएको भन्ने समाचारप्रति पनि संघले असहमति जनाएको छ। उक्त समाचार भ्रामक रहेको दाबी गर्दै त्यससँग नेपाल दलित संघको कुनै सम्बन्ध नरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

नेपाल दलित संघले आफ्ना केन्द्रीय, प्रदेश, जिल्ला तथा स्थानीय तहका पदाधिकारी, सदस्य, शुभेच्छुक र सम्पूर्ण कार्यकर्तालाई अनधिकृत रूपमा आयोजना गरिने कुनै पनि भेला, सभा वा कार्यक्रममा सहभागी नहुन आग्रह गरेको छ। साथै, आधिकारिक कार्यसमितिबाट प्राप्त सूचना र निर्देशनलाई मात्र आधार मानी गतिविधिमा सहभागी हुन संघले सबैमा अपिल गरेको छ।