काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड (एनईबी) ले कक्षा १२ को मौका (ग्रेड वृद्धि) परीक्षाको नतिजा बिहीबार साँझ सार्वजनिक गरेको छ।
बोर्डका अनुसार साउन २ र ३ गते सञ्चालन गरिएको परीक्षामा सहभागी कुल ७१ हजार ३१० परीक्षार्थीमध्ये ५७ हजार ८९७ जना (८१.१९ प्रतिशत) ले सबै विषयमा आवश्यक ग्रेड प्राप्त गरी उत्तीर्ण भएका छन्। साथै, ३ जना परीक्षार्थीको नतिजा रद्द गरिएको बोर्डले जनाएको छ।
प्रकाशित नतिजाप्रति चित्त नबुझेका परीक्षार्थीले साउन २४ गते बिहान ९ बजेदेखि साउन ३० गते साँझ ५ बजेसम्म प्रतिविषय एक हजार रुपैयाँ दस्तुर बुझाई अनलाइनमार्फत पुनर्योग (Re-totaling) का लागि आवेदन दिन सक्नेछन्।
त्यस्तै, परीक्षामा सहभागी भई प्रत्येक विषयमा कम्तीमा ‘डी’ ग्रेड प्राप्त गरेका परीक्षार्थीले नतिजा प्रकाशन भएको १० दिनभित्र तोकिएको दस्तुर बुझाई ट्रान्सक्रिप्ट, माइग्रेसन तथा प्रवीणता प्रमाणपत्रका लागि आवेदन दिन सक्ने बोर्डले जनाएको छ।
बोर्डले नतिजामा कुनै प्राविधिक त्रुटि वा विवरण फरक परेमा आवश्यक कागजातसहित नतिजा प्रकाशन भएको ६ महिनाभित्र सच्याउनका लागि आवेदन दिन सकिने व्यवस्था रहेको पनि जनाएको छ।


