काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लाभित्र सञ्चालित होटल तथा रेष्टुरेन्टहरूमा अव्यवस्थित रूपमा हुक्का, सुर्तीजन्य पदार्थ तथा धूम्रपान गराइँदै आएको भन्दै कानुनी व्यवस्था कडाइका साथ पालना गर्न व्यवसायीलाई निर्देशन दिएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौले जारी गरेकाे जरुरी सूचनामा होटल तथा रेष्टुरेन्टमा धूम्रपानका कारण धूम्रपान नगर्ने व्यक्तिहरूको स्वास्थ्यमा प्रतिकूल असर परेको तथा सञ्चालकहरूले कानुनी व्यवस्था पालना नगरेको सम्बन्धमा गुनासो प्राप्त भएको उल्लेख गरिएको छ।
सूचनाअनुसार सुर्तीजन्य पदार्थ ऐन, २०६८ बमोजिम धूम्रपान गर्न मिल्ने र नमिल्ने स्थान स्पष्ट रूपमा छुट्याउनुपर्नेछ। धूम्रपान गर्न मिल्ने स्थानलाई चारैतर्फबाट बन्द गरी अन्य व्यक्तिलाई असर नपर्ने व्यवस्था मिलाएर मात्र होटल तथा रेष्टुरेन्ट सञ्चालन गर्न प्रशासनले निर्देशन दिएको छ।
प्रशासनले आफ्नो कार्यालय तथा सम्बन्धित निकायबाट नियमित अनुगमन गरिने जनाउँदै ऐनविपरीत कार्य गरेको पाइएमा सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन गर्ने) ऐन, २०६८ को दफा १७ बमोजिम अधिकतम कारबाही गरिने चेतावनी समेत दिएको छ।
जिल्ला प्रशासन कार्यालयले सबै होटल तथा रेष्टुरेन्ट व्यवसायीलाई कानुनको पूर्ण पालना गर्न तथा सर्वसाधारणको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्न आग्रह गरेको छ।


