हेटौँडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले एलपी ग्यासको आपूर्तिमा देखिएको असहज अवस्थालाई व्यवस्थित गर्न विशेष कदम चाल्दै कृत्रिम अभाव सिर्जना गर्ने, आवश्यकता भन्दा बढी ग्यास सिलिन्डर सञ्चय गर्ने तथा अवैध रूपमा ग्यासको खरिद-बिक्री गर्नेमाथि कडा कानुनी कारबाही गरिने जनाएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीद्वारा जारी सार्वजनिक सूचनाअनुसार हाल जिल्लाभित्र एलपी ग्यासको आपूर्तिमा समस्या देखिएको, केही व्यक्तिले आवश्यकता भन्दा बढी सिलिन्डर सञ्चय गरी कृत्रिम अभाव सिर्जना गरेको तथा दर्ताविहीन रूपमा खरिद-बिक्री भइरहेको गुनासो आएपछि सरोकारवाला निकायसँगको बैठकबाट विभिन्न निर्णय गरिएको हो।
प्रशासनले आम उपभोक्तालाई आवश्यकताभन्दा बढी एलपी ग्यास सञ्चय नगर्न आग्रह गर्दै कृत्रिम अभाव सिर्जना गरेको वा अत्यधिक सञ्चय गरेको जानकारी भए टास्क फोर्सको गुनासो नम्बरमा फोन वा ह्वाटसप मार्फत सूचना दिन अनुरोध गरेको छ।
यस्तै, सम्बन्धित निकायमा विधिवत् दर्ता नगरी एलपी ग्यासको खरिद–बिक्री नगर्न निर्देशन दिइएको छ। बजार अनुगमनलाई प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालय, हेटौँडा उपमहानगरपालिका, मकवानपुर उद्योग वाणिज्य संघ, उपभोक्ता हकहित संरक्षण मञ्च तथा ग्यास डिलर एसोसिएसनका प्रतिनिधि सम्मिलित टास्क फोर्स गठन गरिएको प्रशासनले जनाएको छ। उक्त टास्क फोर्सले बजार अनुगमन गरी आवश्यक कानुनी कारबाही अघि बढाउनेछ।
प्रशासनले सूचनाको अवज्ञा गर्दै कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने वा दर्ताविहीन रूपमा एलपी ग्यासको भण्डारण, खरिद–बिक्री तथा वितरण गरेको पाइएमा ग्यास सिलिन्डर जफत गरी प्रचलित कानुनबमोजिम सम्बन्धित व्यक्ति वा संस्थामाथि कडा कारबाही गरिने चेतावनी दिएको छ।


