काठमाडौंमा लागूऔषध र २ लाख ३६ हजारभन्दा बढी नगदसहित एक जना पक्राउ

अ+
अ
अ-

काठमाडौं । काठमाडौं महानगरपालिका–१६ बाइपास क्षेत्रबाट लागूऔषध र नगदसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार बिहीबार साँझ करिब ६ बजे लागूऔषधको खरिद–बिक्री भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले महानगरपालिका–१६ बस्ने ५३ वर्षीय शान्ति नगरकोटीलाई पक्राउ गरेको हो।

प्रहरीले नगरकोटीको कोठाबाट डायजेपाम १७ एम्पुल, बुप्रेनोर्फिन १७ एम्पुल र प्रोमेथाजिन हाइड्रोक्लोराइड इन्जेक्सन आईपी १७ एम्पुल बरामद गरेको जनाएको छ। साथै तीन थान मोबाइल फोन र २ लाख ३६ हजार ८ सय ५० नगद पनि बरामद गरिएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न नगरकोटीविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ। यसका लागि काठमाडौं जिल्ला अदालतबाट तीन दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।