काठमाडौ । राष्ट्रिय सभाको बिहीबारको प्रश्नोत्तर कार्यक्रममा सांसद विष्णुबहादुर विश्वकर्माले निर्मला पन्त हत्या प्रकरण र त्यसको अनुसन्धानबारे प्रश्न उठाएका थिए। त्यसको जवाफ दिने क्रममा गृहमन्त्री सुधन गुरुङले विषयसँग सम्बन्धित नभएको भन्दै ठाडो प्रतिक्रिया दिएका थिए।
पछि आफ्नो अभिव्यक्तिप्रति स्पष्टिकरण दिँदै गृहमन्त्री गुरुङले ठाडो शैलीमा जवाफ दिएकोमा क्षमा मागे। उनले भने, “तपाईंहरूबाट धेरै सिक्न बाँकी छ। हामी सिक्दै जानेछौँ। तपाईंहरू हामीभन्दा जेठा र अनुभवी हुनुहुन्छ। विषयवस्तुमा केन्द्रित होऔँ र विषयभन्दा बाहिर गएर संवेदनशील विषय नउठाइदिन अनुरोध गरेको हुँ।”
उक्त बैठकमा मनसुनजन्य विपद् व्यवस्थापनसम्बन्धी प्रश्नोत्तर चलिरहेको थियो। सोही कारण विषयभन्दा बाहिर प्रश्न आएको भन्दै गृहमन्त्री असन्तुष्ट बनेका थिए।
गृहमन्त्रीको अभिव्यक्तिपछि अन्य सांसदहरूले पनि आलोचना गरेका थिए। नेकपाकी सांसद मदनकुमारी साहले गृहमन्त्रीको बोल्ने शैली उपयुक्त नभएको भन्दै दुःख व्यक्त गरेकी थिइन्।


