निर्मला पन्थ हत्या प्रकरणको जवाफ दिन्न – गृहमन्त्री गुरुङ

अ+
अ
अ-

काठमाडौं । गृहमन्त्री सुदन गुरुङले कञ्चनपुरकी निर्मला पन्थको बलात्कारपछि हत्या भएको घटनाबारे राष्ट्रिय सभामा बारम्बार प्रश्न नउठाउन सांसदहरूलाई आग्रह गरेका छन्।

बिहीबार बसेको राष्ट्रिय सभाको बैठकमा नेपाली कम्युनिस्ट पार्टीका सांसद विष्णुबहादुर विश्वकर्माले निर्मला पन्थ हत्या प्रकरणको छानबिनको अवस्थाबारे प्रश्न गरेका थिए। त्यसको जवाफ दिँदै गृहमन्त्री गुरुङले उक्त विषयमा आफू उत्तर दिन नचाहेको बताए।

“यसको उत्तर म दिन चाहन्न। कुनै एउटा घटना बितिसकेपछि बारम्बार त्यही कुरा कोट्याएर घाउ बल्झाउन किन खोज्नुहुन्छ?” उनले भने।

गुरुङले राष्ट्रिय मञ्चबाट पटक–पटक उक्त विषय उठाउँदा पीडित परिवारको पीडा झन् बढ्न सक्ने तर्क गरे। उनले सांसद विश्वकर्मालाई प्रतिप्रश्न गर्दै भने, “के तपाईंलाई यसो गर्दा मनमा शान्ति आउँछ?”

उनले आमाको घाउ बारम्बार सम्झाएर पीडा थप्न नहुने भन्दै संवेदनशील बन्न सांसदहरूलाई आग्रह गरे।

निर्मला पन्थको २०७५ सालमा बलात्कारपछि हत्या भएको थियो। उक्त घटनाको निष्पक्ष छानबिन र दोषीलाई कारबाहीको माग लामो समयदेखि उठ्दै आएको छ।