रौतहटमा १२ हजार लिटर पेट्रोल बोकेको ट्याङ्करमा आगलागी, पूर्ण रूपमा जलेर नष्ट

अ+
अ
अ-

रौतहट । रौतहटको गुजरा नगरपालिका–३ स्थित धनसर पुल नजिक पूर्व–पश्चिम राजमार्गमा १२ हजार लिटर पेट्रोल बोकेको ट्याङ्करमा आगलागी भएको छ।

मध्य प्रदेश नम्बर म.प्र ०३–००१ ख ७८११ नम्बरको ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा ट्याङ्कर पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी निरीक्षक राजेन्द्र थापा मगरका अनुसार ट्याङ्करका चालक सुरक्षित रहेका छन्।

प्रहरीका अनुसार आगो पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छ। साथै, आगलागीका कारण केही समय अवरुद्ध भएको पूर्व–पश्चिम राजमार्गमा अहिले सवारी आवागमन सुचारु भएको छ।
घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।