निम्स दाइकाे अन्त्येष्टि बेलायतमा गरिने

अ+
अ
अ-

पाकिस्तानको काराकोरम हिमश्रृङ्खलाअन्तर्गत रहेको ब्रड पिक (Broad Peak) हिमालमा हिमपहिरोमा परी ज्यान गुमाएका विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) को अन्त्येष्टि बेलायतमा हुने भएको छ।

ब्रड पिकमा गत साउन १४ गते आएको हिमपहिरोमा परी बेपत्ता भएका निम्स दाइको शव साउन १७ गते फेला परे पनि प्रतिकूल मौसम, जोखिमपूर्ण भू-भाग र निरन्तर हिमपहिरोको खतरा कारण तत्काल निकाल्न सम्भव भएको थिएन। अत्यन्त चुनौतीपूर्ण उद्धार अभियानपछि बुधबार उनको शव सफलतापूर्वक आधार शिविर (Base Camp) मा ल्याइएको हो।

Elite Exped ले जारी गरेको विज्ञप्तिअनुसार पर्वतारोही तथा उद्धारकर्ता मिङ्मा शेर्पा को नेतृत्वमा रहेको टोलीले निम्स दाइसहित झोङ वाङ, निमा शेर्पा र किलु शेर्पा को शव ब्रड पिकबाट उद्धार गरी सुरक्षित रूपमा आधार शिविरमा पुर्‍याएको छ।

कम्पनीका अनुसार आधार शिविरबाट निम्स दाइको पार्थिव शरीर पाकिस्तानको स्कार्डु (Skardu) पुर्‍याउन अझै करिब दुई दिन लाग्नेछ। त्यसपछि उहाँको शव बेलायतको लन्डन लगिनेछ, जहाँ उहाँको परिवार बसोबास गर्दै आएको र अन्त्येष्टि पनि त्यहीँ गरिनेछ। उहाँसँगै ज्यान गुमाएका अन्य नेपाली पर्वतारोहीहरूको पार्थिव शरीर भने नेपाल ल्याइने तयारी गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, “निम्सलाई घर फर्काउनु भनेको केवल एक पर्वतारोहीलाई फिर्ता ल्याउनु मात्र होइन। यो एक पति, एक पिता, एक छोरा, एक दाजुभाइ, एक साथी तथा Elite Exped, Nimsdai Foundation, Nimsdai Store र Sky Dive Nimsdai को मुटु घर फर्काउनु हो।”

ब्रड पिक दुर्घटनामा कुल १० जना पर्वतारोही हिमपहिरोमा परेका थिए। हालसम्म चार जनाको शव फेला परेको छ भने तीन जना अझै बेपत्ता रहेका छन्। उद्धार अभियानमा पाकिस्तान आर्मी, पाकिस्तान सरकार, गिल्गिट-बाल्टिस्तान सरकार, बेलायती उच्चायोग, नेपाल दूतावास तथा Alpine Club of Pakistan लगायतका निकायले समन्वय गरेका थिए।

म्याग्दीमा जन्मिएर चितवनमा हुर्किएका निम्स दाइ सन् २००३ मा ब्रिटिस आर्मी मा भर्ती भएका थिए। गोर्खा रेजिमेन्टमा सेवा गरेपछि उहाँ बेलायतको प्रतिष्ठित Special Boat Service (SBS) मा आबद्ध हुनुभएको थियो। पर्वतारोहणमा उहाँले विश्वका ८,००० मिटरभन्दा अग्ला १४ वटै हिमाल केवल ६ महिनाभित्र आरोहण गरेर विश्व कीर्तिमान कायम गर्नुभएको थियो। यसपटक ती सबै हिमाल अक्सिजनबिना दोस्रोपटक आरोहण गर्दै आफ्नै कीर्तिमान तोड्ने अभियानमा रहँदा उहाँको दुःखद निधन भएको हो।