काठमाडौ । एमाले अध्यक्ष केपी शर्मा ओलीको दबाबका बीच पनि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पदबाट राजीनामा नदिने अडान राखेका थिए । अन्ततः अध्यक्ष ओलीले नै पछि हट्दै कार्कीलाई हालका लागि मुख्यमन्त्रीको जिम्मेवारीमा निरन्तरता दिने निर्णय गरेका छन् ।
ओली निवासमा भएको छलफलमा प्रदेशको राजनीतिक अवस्था, संवैधानिक जटिलता तथा पार्टीभित्रको समग्र परिस्थितिबारे समीक्षा गरिएको थियो। छलफलमा कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा, प्रदेश सचिव राजकुमार भण्डारी तथा मुख्यमन्त्री कार्कीसँग छुट्टाछुट्टै संवाद भएको बताइन्छ ।
छलफलपछि अध्यक्ष ओलीले “अहिलेलाई काम गर्दै जानुहोस्, उपयुक्त समयमा आवश्यक निर्णय गरौँला” भन्ने निष्कर्ष सुनाएको बताइएको छ।
प्रदेश अध्यक्ष घनश्याम खतिवडाका अनुसार कोशी प्रदेशमा देखिएको राजनीतिक समीकरण र संवैधानिक जटिलतालाई ध्यानमा राख्दै हालका लागि कार्कीलाई नै मुख्यमन्त्रीका रूपमा निरन्तरता दिनु उपयुक्त देखिएको हो ।


