सरकार सुशासन, पारदर्शिता र जवाफदेहितामा पूर्ण असफल : नेपाली कांग्रेस

अ+
अ
अ-

काठमाडौं । नेपाली कांग्रेसले सरकार सुशासन, पारदर्शिता र जवाफदेहितामा पूर्ण रूपमा असफल भएको आरोप लगाउँदै सरकारविरुद्ध १५ बुँदे आरोपपत्र सार्वजनिक गरेको छ।

बुधबार पार्टीको केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता देवराज चालिसेले सरकार जनअपेक्षा पूरा गर्न असफल भएको, राजनीतिक स्टन्टमार्फत आफ्नो बचाउ गर्न खोजेको तथा जनपक्षीय मुद्दाहरूलाई तोडमोड गरेको आरोप लगाए।

कांग्रेसले सुनसरी घटनामा सरकार संयमित र जवाफदेही बन्न नसकेको उल्लेख गर्दै प्रदर्शनका क्रममा बन्दुक, गोली र लाठी प्रयोग गरिएको घटनालाई लज्जास्पद भनेको छ। घटनास्थलमा स्वयं जिम्मेवार मन्त्री उपस्थित नभई सहयोगीलाई पठाइएको विषयले सरकारको निरिहता उजागर गरेको पनि कांग्रेसको भनाइ छ।

त्यस्तै, भदौ २३ र २४ गते भएका घटनाबारे उच्चस्तरीय छानबिन आयोगले दिएका सुझाव तथा प्रतिवेदन कार्यान्वयन गर्न सरकार असफल भएको आरोप कांग्रेसले लगाएको छ।

पत्रकार सम्मेलनमा सञ्चार माध्यममाथि लगाइएको प्रतिबन्ध, सरकारी कर्मचारीमाथि गरिएको निगरानी र त्रासको वातावरण, माइतीघरबाट पक्राउ गरिएका तीन जना अभियन्तालाई हिरासतमा राखिएको घटनाप्रति पनि कांग्रेसले आपत्ति जनाएको छ।

कांग्रेसले गृहमन्त्री पटक–पटक विवादमा तानिएको, अभिव्यक्ति तथा नागरिक स्वतन्त्रतामाथि बन्देज लगाइएको, सुकुम्बासी समस्या समाधानमा प्रगति हुन नसकेको तथा किसानलाई आवश्यक मल उपलब्ध गराउन सरकार असफल भएको आरोप पनि लगाएको छ।

यसैगरी, बजारमा देखिएको खाना पकाउने ग्यास अभाव तथा त्यसबाट विशेषगरी महिलाले भोग्नुपरेको सास्तिप्रति सरकार संवेदनशील नभएको आरोपपत्रमा उल्लेख गरिएको छ।

कांग्रेसले सरकार जनविश्वास पुनःस्थापित गर्न, सुशासन कायम गर्न र जनताका आधारभूत समस्याको समाधानतर्फ तत्काल प्रभावकारी कदम चाल्नुपर्ने माग समेत गरेको छ।