काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेपाली कम्युनिस्ट आन्दोलनको पुरानो स्वरूपको औचित्य समाप्त भएको बताएका छन्।
बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले निर्वाचनपछिको कम्युनिस्ट विचलनका कारण आन्दोलन कमजोर बन्दै गएको र पार्टीभित्रको वैचारिक प्रशिक्षण (स्कुलिङ) समेत खस्किएको बताए।
उनले अब नयाँ घोषणापत्र, नयाँ विचार र देशको आवश्यकता अनुसारको समाजवादी विकल्पसहित अघि बढ्नुपर्ने धारणा राखे। पुराना कम्युनिस्ट पार्टीहरू सरकार बनाउने र फुट्ने चक्रमै अल्झिएकाले त्यसबाट समाजवादको लक्ष्य हासिल हुन नसक्ने उनको भनाइ थियो।
विप्लवले देश सुहाउँदो समाजवाद निर्माण गर्न नसके नेपाल परतन्त्रतातर्फ जाने जोखिम रहेको समेत उल्लेख गरे। यसैबीच, उनले ओली र प्रचण्ड बीचको सत्ता साझेदारीप्रति कटाक्ष गर्दै पुरानो राजनीतिक शैलीको समय सकिएको टिप्पणी गरे।


