काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले सरकार आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न आर्थिक कूटनीतिलाई थप प्रभावकारी बनाउँदै अघि बढिरहेको बताउनुभएको छ। परराष्ट्र मन्त्रालयमा आर्थिक कूटनीति महाशाखाले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले अन्तरराष्ट्रिय सहायता र व्यापारका क्षेत्रमा नेपालको सहभागिता र लाभलाई अझ विस्तार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।
मन्त्री खनालले नेपालले कम विकसित मुलुकको हैसियतमा विभिन्न देशबाट शून्य भन्सार दरको सुविधा पाउँदै आए पनि त्यसको अपेक्षित लाभ लिन नसकेको उल्लेख गर्दै विगतमा गुमेका अवसरहरूको समीक्षा गरी आगामी रणनीति तय गर्नुपर्ने बताउनुभयो। उहाँले सीमित स्रोतसाधनलाई प्राथमिकताका आधारमा परिचालन गर्नुपर्ने र विदेशस्थित नेपाली नियोगहरूले आर्थिक कूटनीतिलाई केन्द्रमा राखेर काम गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।
उहाँले वर्तमान भूराजनीतिक चुनौतीलाई ध्यानमा राख्दै स्पष्ट नीति, प्रभावकारी योजना र व्यापार तथा अन्तरराष्ट्रिय सहकार्यलाई प्राथमिकता दिएर अघि बढे मात्रै आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न सकिने विश्वास व्यक्त गर्नुभयो।


