करेन्ट लागेर मृत्यु भएको विषय संसदमा उठ्यो, सांसद भण्डारीद्वारा क्षतिपूर्ति माग

अ+
अ
अ-

काठमाडौं । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकामा विद्युतीय करेन्टबाट महिलाको मृत्यु भएको घटनाको विषय प्रतिनिधिसभामा उठेकाे छ।

प्रतिनिधिसभा सदस्य वदन कुमार भण्डारीले नेपाल विद्युत प्राधिकरणको लापरवाहीका कारण उक्त दुर्घटना भएको भन्दै सरकारको ध्यानाकर्षण गराउँदै पीडित परिवारलाई क्षतिपूर्ति माग गरेका हुन्।

भुम्लु गाउँपालिका–७ निवासी ४० वर्षीया देवकी उप्रेतीको विद्युत पोलमा जडान गरिएको स्टे तारमा आवश्यक स्टे इन्सुलेटर नहुँदा करेन्ट प्रवाह भई मृत्यु भएको हो। सांसद भण्डारीले सभामुख मार्फत सरकारकाे ध्यानाकर्षण गराउँदै भने,`उप्रेती एक किसान हुन्। उनी डेरिमा दूध लिएर जाने क्रममा करेन्ट लागेर मृत्युु भएकाे हो । ´पानी परिरहेको अवस्थामा स्टे तारमा करेन्ट प्रवाह भएको र सोही क्रममा दुर्घटनामा परि उनकाे मृत्यु भएको सांसद भण्डारीले सदनलाई जानकारी गराएका हुन्।

उनले विद्युत संरचनाको लापरवाहीले एक निर्दोष नागरिकको ज्यान गएको भन्दै घटनाको निष्पक्ष छानबिन गर्न, पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।

साथै, उनले देशभर रहेका नाङ्गा तार, असुरक्षित विद्युतीय संरचना हटाउन र दुर्घटना न्यूनीकरणका लागि नेपाल विद्युत प्राधिकरण र सरकारले तत्काल प्रभावकारी कदम चाल्न सुझाव दिए ।