काठमाडौ । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीले कानुनी मान्यता पाएको छ।
प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रदेश सभाबाट पारित ‘औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा नियमन तथा उपयोग गर्ने सम्बन्धमा बनेको विधेयक’ प्रमाणित गरेसँगै गाँजा खेतीलाई वैधानिकता प्राप्त भएको हो।
उक्त विधेयक गत असार २५ गते गण्डकी प्रदेश सभाबाट पारित भएको थियो। त्यसपछि प्रदेश प्रमुखले केही विषयमा पुनर्विचार गर्नुपर्ने भन्दै साउन १८ गते प्रदेश सभामा विधेयक फिर्ता पठाएका थिए। प्रदेश सभाले पुनः विचार गरी आवश्यक प्रक्रियापछि विधेयक फेरि प्रदेश प्रमुखसमक्ष पठाएको थियो।
प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता प्रवीण पौडेलका अनुसार पुनः प्राप्त भएको विधेयक प्रदेश प्रमुखबाट प्रमाणित गरिएको छ। प्रमाणीकरणसँगै गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेती, उत्पादन, नियमन तथा उपयोगसम्बन्धी कानुनी व्यवस्था लागू हुने बाटो खुलेको छ।
यससँगै गण्डकी प्रदेश औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई कानुनी मान्यता दिने पहिलो प्रदेश बनेको छ।


