काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमीले सार्वजनिक जग्गामा रहेका विद्यालयहरुको व्यवस्थापन तथा संरक्षणका लागि देशभरका स्थानीय तहलाई निर्देशन दिएको छ।
केन्द्रका निर्देशक नीलकण्ठ ढकालद्वारा जारी गरिएको सूचनामा पहिराे,बाढी र अन्य जाेखिमका कारण विद्यालयको नियमित पठनपाठनमा असर पर्न नदिन यस्तो निर्देशन दिइएको हो । सरकारी विद्यालयलाई प्रभावकारी बनाउन आवश्यक सहजीकरण गर्न समेत स्थानीय तहलाई आग्रह गरिएको छ।
उक्त सूचनामा विद्यार्थीहरू नियमित रूपमा विद्यालय उपस्थित हुन सक्ने वातावरण सुनिश्चित गर्न तथा शैक्षिक सामग्री, सुरक्षित वातावरणलगायतका आधारभूत सुविधाबाट कुनै पनि विद्यार्थी वञ्चित हुन नदिन स्थानीय तहलाई विशेष ध्यान दिन भनिएको छ।
त्यसैगरी, कक्षा १२ का विद्यार्थीहरूको वार्षिक परीक्षालाई लक्षित गर्दै तोकिएका परीक्षा केन्द्रसम्म सुरक्षित रूपमा आउन–जान सक्ने गरी आवश्यक यातायात तथा अन्य सहजीकरणको व्यवस्था मिलाउन पनि केन्द्रले निर्देशन दिएको छ।
केन्द्रले स्थानीय तह, सम्बन्धित निकाय तथा सरोकारवालाबीच आवश्यक समन्वय गरी विद्यार्थीको सिकाइमा कुनै अवरोध नआउने वातावरण निर्माण गर्न अनुरोध गरेको छ।


