निर्वाचन आयाेगकाे मतदाता नामावलीमा नाम छुटेकाे छ?

अ+
अ
अ-

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्न देशभरका प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिएको छ।

आयोगको साउन १५ गते बसेको बैठकको निर्णयअनुसार हाल कायम अन्तिम मतदाता नामावली तथा २०८३ भदौ १५ गतेसम्म सङ्कलन भएका नयाँ र संशोधनका लागि प्राप्त निवेदनहरू समावेश गरी मतदाता नामावली तयार गरिने भएको छ। सोही आधारमा मतदाता नामावली ऐन, २०७३ को दफा १३ बमोजिम अन्तिम मतदाता नामावली प्रकाशनको तयारी गरिने आयोगले जनाएको छ।

आयोगले मतदाता नामावली ऐन, २०७३ को दफा ६ को खण्ड (ख) बमोजिम १८ वर्ष उमेर पूरा भएको मितिलाई (कट–अफ डेट) २०८३ भदौ १५ गते कायम गर्ने निर्णय गरेको छ। यस सम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशनका लागि पठाइने उल्लेख गरिएको छ।

यस्तै, मतदाता नामावली अद्यावधिक कार्यविधि, २०८१ अनुसार निर्धारित प्रक्रिया पूरा गरी अनुसूची–१ बमोजिम मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्न तथा हाल नियमित रूपमा सञ्चालन भइरहेको मतदाता नामावली सङ्कलन र अद्यावधिक कार्यलाई निरन्तरता दिन पनि निर्देशन दिइएको छ।

निर्वाचन आयोगले प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयहरूलाई आफ्नो कार्यक्षेत्रभित्र रहेका स्थानीय तहका वडा–वडासम्म मतदाता नामावली अद्यावधिक कार्य सुरु गर्न निर्देशन दिएको छ। यस क्रममा स्थानीय पञ्जिकाधिकारीसँग समन्वय गरी विवाह, बसाइँसराइ तथा मृत्यु भएका मतदाताको विवरण मतदाता नामावलीसँग मिलाई अद्यावधिक गर्नुपर्ने उल्लेख गरिएको छ। उक्त कार्य २०८३ असोज १५ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

मतदाता नामावली अद्यावधिक कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न स्थानीय तह, सम्बन्धित निर्वाचन कार्यालय, गृह, सहकारी तथा सामान्य प्रशासन मन्त्रालयसँग आवश्यक समन्वय, सहयोग तथा सहजीकरण गर्न पनि निर्वाचन आयोगले अनुरोध गरेको छ।