काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको रिहाइको माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ।
‘नेपालका लागि नेपाल र नेपाली बचाउ अभियान’ अन्तर्गत आबद्ध सदस्यहरूले प्रदर्शन गर्दै प्रसाईंलाई बिना शर्त रिहा गर्न सरकारसँग माग गरेका हुन्।
प्रदर्शनकारीहरूले नेपालमा हिन्दू राष्ट्र र राजसंस्था पुनःस्थापना हुनुपर्ने माग गर्दै प्रसाईंले उठाएका विषयहरूलाई सरकारले सम्बोधन गर्नुपर्ने बताएका छन्। उनीहरूले सरकारले जनभावनाको सम्मान गर्दै आफ्ना मागहरू कार्यान्वयन गर्नुपर्ने धारणा राखे। यस्तै सुशिला कार्की नेतृत्वको सरकार र अभियानकाे पक्ष बिच भएको तत्कालीन सहमति कार्यान्वयन गर्न पनि माग गरेका छन् ।
उनीहरूले तराई क्षेत्रमा भएका घटनापछि हिन्दूवादी पक्ष र गृहमन्त्रीबीच भएको भनिएको मौखिक सहमति तथा प्रस्तुत मागपत्रमा उल्लेखित विषयहरू अविलम्ब कार्यान्वयन गर्न सरकारसँग अपिल गरेका छन्।
प्रदर्शनका क्रममा सहभागीहरूले दुर्गा प्रसाईंलाई बिना शर्त रिहा गर्न, उठाइएका मागहरू कार्यान्वयन गर्न तथा राजनीतिक विषयमा संवादमार्फत समाधान खोज्न सरकारसँग आग्रह गरेका थिए।


