शरणार्थीलाई नक्कली कागज बनाएर जर्मनी पठाउने सहसचिव पक्राउ

अ+
अ
अ-

काठमाडौ । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई पक्राउ गरी अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको हो।

प्रहरीका अनुसार तिब्बती शरणार्थीलाई नक्कली कागजात (ट्राभल डकुमेन्ट) तयार गरी जर्मनी पठाउन खोजिएको आरोपमा उनीमाथि अनुसन्धान भइरहेको छ।

सीआईबीले अदालतमा पेस गरेको आरोपपत्रअनुसार भट्टराई वि.सं. २०६५ देखि २०६६ सम्म परराष्ट्र मन्त्रालयको राहदानी शाखामा कार्यरत थिए। सो अवधिमा उनले ५०० थान ट्राभल डकुमेन्ट बुझेका थिए। ती डकुमेन्ट वास्तविक योग्य व्यक्तिलाई जारी गर्नुपर्नेमा तीन जना तिब्बतीलाई नक्कली शरणार्थीका रूपमा कागजात तयार गरी जर्मनी पठाउने प्रयास गरिएको आरोप छ।

यस प्रकरणमा जर्मनीस्थित जर्मन दूतावासले वि.सं. २०६८ असार २८ गते नै शंकास्पद कागजातबारे अनुसन्धान गर्न सीआईबीलाई पत्राचार गरेको थियो। दूतावासले तेन्दिङ नामग्याल चुगाेत्साङ, तेन्दिङ तेन्दर चुङ्सुङलगायतका व्यक्तिले सन् २००९ मा प्रयोग गरेका ट्राभल डकुमेन्ट फर्जी हुन सक्ने आशंका व्यक्त गरेको थियो।