नुवाकोट । जिल्ला प्रहरी कार्यालय नुवाकोट मातहत रहेका आठ वटा प्रहरी इकाइहरूले समुदाय-प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरेका छन्।
आज आयोजित कार्यक्रममार्फत समाजमा शान्ति सुरक्षा, सामाजिक सद्भाव तथा सुरक्षित वातावरण कायम गर्ने उद्देश्यले बालविवाह, घरेलु हिंसा, जातीय छुवाछुत, लागूऔषध दुर्व्यसन नियन्त्रण तथा सवारी दुर्घटना न्यूनीकरणका विषयमा सर्वसाधारणलाई सचेत गराइएको नुवाकोट जिल्ला प्रहरीले जनाएको छ।
कार्यक्रममा समुदायको सक्रिय सहभागितामार्फत सामाजिक विकृति तथा अपराधजन्य गतिविधि न्यूनीकरण गर्न सकिने, प्रचलित कानुनी व्यवस्थाको पालना गर्नुपर्ने तथा समुदाय-प्रहरी साझेदारीको महत्वबारे जानकारी प्रदान गरिएको थियो।
प्रहरीका अनुसार यस्ता सचेतनामूलक कार्यक्रमले समाजमा अपराध नियन्त्रण, सामाजिक सद्भाव अभिवृद्धि तथा सुरक्षित समुदाय निर्माणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।


