सुस्तामा भारतीय एसएसबीले नेपाली भूमिमा बनेको अस्थायी बाँध भत्कायाे

अ+
अ
अ-

नवलपरासी । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले नेपाली भूमिमा निर्माण गरिएको अस्थायी बाँध भत्काएको भन्दै स्थानीयले विरोध गरेका छन्।

स्थानीयका अनुसार आइतबार मध्यान्ह सादा पोसाकमा हतियारसहित आएका करिब ७०–७५ जनाको समूहले सीमा पार गर्दै नेपाली भूमिमा प्रवेश गरेको थियो। उनीहरूले सुस्ता गाउँपालिका–५ स्थित थारू टोलमा रहेको करिब १३२ मिटर लामो कच्ची बाँध भत्काइदिएका हुन् ।

बाँध भत्काइएपछि स्थानीयवासीले घटनाको विरोध गरेका थिए। सुस्ता बचाउ अभियानका संयोजक योगेन्द्र गौतमका अनुसार भारतीय एसएसबीका सुरक्षाकर्मीहरू सीमामा रहेको सिमलको रुखभन्दा करिब ३०० मिटर अगाडि बढेर नेपाली भूमिमा प्रवेश गरेका थिए।

स्थानीयका अनुसार नारायणी नदीको धार परिवर्तन तथा भारतीय पक्षबाट हुने भनिएको पटक–पटकको हस्तक्षेपका कारण उक्त क्षेत्रमा सीमा विवाद बेलाबेलामा दोहोरिने गरेको छ।