इतर समुहकाे राष्ट्रिय भेला आयाेजक समिति बनेपछि संस्थापनले बाेलायाे केन्द्रीय समिति बैठक

अ+
अ
अ-

काठमाडौं । नेपाली कांग्रेसले साउन २४ गते दिउँसो १ बजे बस्ने गरी केन्द्रीय समितिको बैठक आह्वान गरेको छ।

कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा समसामयिक राजनीतिक विषय, पार्टीको आन्तरिक अवस्था तथा अन्य महत्वपूर्ण विषयमा छलफल हुने जनाइएको छ।

स्रोतका अनुसार संस्थापन इतर समूहले साउन २९ गते राष्ट्रिय भेला गर्ने घोषणा गरेपछि त्यसअघि नै केन्द्रीय समिति सदस्यहरूको सुझाव तथा धारणा लिन बैठक बोलाइएको हो।

शनिबार संस्थापन इतर समूहले डा. शशांक कोइरालाको नेतृत्वमा ५५१ सदस्यीय राष्ट्रिय भेला आयोजक समिति घोषणा गरेको थियो।

यसैबीच, बीपी स्मृति दिवसका अवसरमा नेपाली कांग्रेसका संस्थापन र संस्थापन इतर समूहले छुट्टाछुट्टै कार्यक्रम आयोजना गरेका थिए। संस्थापन पक्षले पार्टीको केन्द्रीय कार्यालय सानेपामा कार्यक्रम गरेको थियो भने संस्थापन इतर समूहले राष्ट्रिय प्रज्ञा–प्रतिष्ठानमा स्मृति कार्यक्रम आयोजना गरेको थियो।

संस्थापन इतर समूहनिकट एक नेताका अनुसार संस्थापन पक्षले कार्यक्रममा निमन्त्रणा नदिएका कारण दुवै पक्षले अलग–अलग कार्यक्रम आयोजना गरेका हुन्।