काठमाडौं । देशमा राजसंस्थाको आवश्यकता रहेको दाबी गर्दै शाही शक्ति युथले हस्ताक्षर अभियान थालेकाे छ।
गोदावरी नगरपालिका–१ मा आयोजित कार्यक्रममा पूर्वयुवराज पारस शाहलाई सहभागी गराइएको थियो । सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा भएको कार्यक्रममा उनलाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गरिएको थियो। कार्यक्रममा कन्याहरूले पूर्वयुवराज पारस शाहको स्वागत गरेका थिए।
आयोजकका अनुसार वृक्षारोपणजस्तो पवित्र कार्यलाई अघि बढाउने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको हो। स्थानीयहरूले राष्ट्र र राष्ट्रियताको पक्षमा आवाज उठाउन सक्ने व्यक्तित्वको आवश्यकता रहेको भन्दै पूर्वयुवराज पारस शाहलाई प्रमुख अतिथिका रूपमा निमन्त्रणा गरिएको बताएका छन्।
कार्यक्रममा बोल्ने सहभागीहरूले वर्तमान राजनीतिक दलप्रति जनताको विश्वास घट्दै गएको दाबी गर्दै राष्ट्र र राष्ट्रियताको संरक्षणका लागि राष्ट्रसंस्थाको आवश्यकता रहेको धारणा राखे। उनीहरूले नयाँ राजनीतिक शक्ति र जेन–जी आन्दोलनपछि बनेको सरकारले पनि अपेक्षाअनुसार देश सञ्चालन गर्न नसकेको आरोप लगाए।
सहभागीहरूले देशमा देखिएको धार्मिक तथा जातीय तनाव नियन्त्रण गर्न राज्य असफल भएको टिप्पणी गर्दै राष्ट्रहितमा दृढतापूर्वक बोल्न सक्ने नेतृत्वको अभाव रहेको बताए। साथै, नेपाली कांग्रेसले संस्थापक नेता बीपी कोइरालाको राष्ट्रिय मेलमिलापको नीति बिर्सिएको र राष्ट्र तथा राष्ट्रियताप्रतिको दायित्व प्रभावकारी रूपमा निर्वाह गर्न नसकेको गुनासोसमेत व्यक्त गरिएको थियो।


