व्यापारीले गरे ग्यासको कृतिम अभाव,निगम भन्छ पर्याप्त छ

अ+
अ
अ-

काठमाडौं । बजारमा खाना पकाउने एलपी ग्यासको आपूर्तिमा समस्या देखिएपछि नेपाल साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड को टेकु शाखाले कार्यालयबाटै उपभोक्तालाई ग्यास वितरण सुरु गरेको छ।

आइतबार टेकुस्थित शाखामा ग्यास लिन आएका सर्वसाधारणको ठूलो भिड लागेको देखिएको छ। हातमा खाली ग्यास सिलिन्डर बोकेर उपभोक्ताहरू लामो लाइनमा बसेका छन्।

यसअघि नेपाल आयल निगमले विज्ञप्ति मार्फत बजारमा एलपी ग्यासको कुनै अभाव नरहेको दाबी गर्दै कृत्रिम अभाव सिर्जना नगर्न ग्यास व्यवसायी तथा विक्रेतालाई आग्रह गरेको थियो। निगमले बजारमा ग्यासको आपूर्ति पर्याप्त रहेको जनाएको छ।

यद्यपि निगम र साल्ट ट्रेडिङले आपूर्ति सहज रहेको बताए पनि सर्वसाधारणले भने बजारमा खाना पकाउने एलपी ग्यास सहज रूपमा नपाएको गुनासो गरेका छन्। ग्यास अभावका कारण उपभोक्ता प्रत्यक्ष रूपमा साल्ट ट्रेडिङको टेकु शाखामा पुगेर ग्यास लिन बाध्य भएका छन्।