काठमाडौं । वैदेशिक रोजगार विभाग, ईपीएस कोरिया शाखाले राहदानी (पासपोर्ट) सम्बन्धी समस्याका कारण दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (EPS) अन्तर्गतको अनलाइन दरखास्त पेश गर्ने अन्तिम म्याद साउन २० गते (अगस्ट ५, २०२६) सम्मका लागि थप गरेको छ।
ईपीएस शाखाले जारी गरेकाे सूचनाअनुसार ईपीएसको अनलाइन दरखास्त प्रणाली राहदानी विभागको प्रणालीसँग प्रत्यक्ष अन्तरसम्बन्धित रहेको छ। हाल ईपीएस आवेदन खुला भएपछि नयाँ राहदानी बनाउन तथा म्याद सकिएका राहदानी नवीकरण गर्न सेवाग्राहीको अत्यधिक चाप बढेकाले राहदानी विभाग र सेवा केन्द्रहरूमा समस्या देखिएको शाखाले जनाएको छ।
राहदानी विभाग पनि प्रणाली स्थिरीकरणको प्रक्रियामा रहेकाले अत्यावश्यक अवस्थामा मात्र राहदानी आवेदन दिन आग्रह गरिएको छ। यही अवस्थालाई मध्यनजर गर्दै एच आर डी सर्भिस अफ काेरिया,ईपीएस सेन्टर नेपाल र वैदेशिक रोजगार विभाग, ईपीएस कोरिया शाखाको संयुक्त निर्णयअनुसार अनलाइन आवेदनको अन्तिम म्याद साउन २० गतेसम्म विस्तार गरिएको हो।
सूचनाअनुसार हाल राहदानीको म्याद सकिएका आवेदकले पनि सोही राहदानीको विवरण प्रविष्ट गरी अनलाइन आवेदन दिन सक्नेछन्। साथै, भाषा तथा सीप परीक्षा उत्तीर्ण गरी रोजगार आवेदन फाराम भर्ने समयमा मात्र म्याद बाँकी रहेको राहदानी पेश गरे पुग्ने व्यवस्था गरिएको छ।
ईपीएस कोरिया शाखाले दरखास्त फाराम भर्नकै लागि तत्काल राहदानी नवीकरण गर्न हतार नगर्न तथा अत्यावश्यक अवस्थामा मात्र राहदानी नवीकरणका लागि आवेदन दिन सबै आवेदकलाई आग्रह गरेको छ।


