संयुक्त हिन्दु मोर्चाकाे १३ बुँदे मागपत्र

अ+
अ
अ-

काठमाडौं । संयुक्त हिन्दु मोर्चाले नेपाल सरकारका गृहमन्त्री सुदन गुरुङसमक्ष १३ बुँदे मागपत्र पेश गरेको छ।

मोर्चाले दीर्घकालीन राष्ट्रिय, सामाजिक सद्भाव, आर्थिक समृद्धि तथा धार्मिक सहअस्तित्वको प्रवर्द्धनका लागि नेपाललाई पुनः हिन्दु राष्ट्र कायम गर्ने विषयमा स्पष्ट प्रतिबद्धता जनाउँदै सर्वदलीय बैठकमार्फत छलफल प्रक्रिया अघि बढाउन माग गरेको छ।

मागपत्रमा कुनै पनि धर्म, सम्प्रदाय वा समुदायको भावनामा चोट पुग्ने तथा धार्मिक असहिष्णुता झल्किने गतिविधि नियन्त्रण गरी दोषीमाथि कानुनी कारबाही गर्नुपर्ने उल्लेख छ। साथै मठ, मन्दिर, मस्जिद, मदरसा, गुम्बा र चर्चमा लाउडस्पिकर तथा ध्वनि विस्तारक उपकरणको प्रयोग नियमन गर्नुपर्ने र आवश्यक धार्मिक गतिविधिका लागि निश्चित समयसीमा तोक्नुपर्ने माग गरिएको छ।

यस्तै धार्मिक स्थलमा बसोबास गर्ने सबै व्यक्तिको अभिलेखीकरण, विदेशी नागरिक भए सम्बन्धित निकायबाट निगरानी तथा व्यवस्थापन गर्नुपर्ने, सामाजिक सञ्जालमार्फत धार्मिक, साम्प्रदायिक वा जातीय द्वेष फैलाउनेमाथि कानुनी कारबाही गर्नुपर्ने माग पनि राखिएको छ।

मोर्चाले सुनसरी देवानगञ्ज घटनापछि आन्दोलनका क्रममा पक्राउ परेकामाथि लगाइएका मुद्दा पुनरावलोकन गरी आवश्यक निर्णय लिन, निर्दोषलाई कानुनी प्रक्रियाअनुसार रिहा गर्न तथा घाइतेहरूको उपचार र आवश्यक स्वास्थ्य सेवाको व्यवस्था गर्न पनि सरकारसँग माग गरेको छ।

त्यसैगरी धार्मिक आयोगहरूको औचित्य र कानुनी आधार पुनरावलोकन, आन्दोलनमा सहभागी नागरिकको सुरक्षा सुनिश्चित गर्नुपर्ने, २०६२/६३ सालदेखि हालसम्म प्रदान गरिएका नेपाली नागरिकताको छानबिन तथा विदेशी नागरिकसँग सम्बन्धित विषयमा आवश्यक कानुनी प्रक्रिया अघि बढाउनुपर्ने मागपत्रमा उल्लेख छ।

मागपत्रमा मदरसा, मस्जिद तथा अन्य धार्मिक संस्थामा हुने आर्थिक गतिविधि र विदेशी स्रोतको अनुगमन तथा नियमन गर्नुपर्ने, १२ वर्षीय आनन्द दासको हत्यामा संलग्नलाई कानुनी कारबाही गरी पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने तथा आफ्ना माग सम्बोधनको प्रक्रिया अघि बढे आन्दोलनका कार्यक्रम तत्कालका लागि स्थगित गर्ने उल्लेख गरिएको छ।