एलपी ग्यासकाे कृत्रिम अभाव राेक्न निगमकाे आग्रह

अ+
अ
अ-

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवको निर्देशनपछि नेपाल आयल निगमले बजारमा एलपी ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न विशेष व्यवस्था लागू गरेको छ। निगमले उपभोक्ताले सहज रूपमा खाना पकाउने ग्यास पाउने वातावरण बनाउन तथा वितरण प्रणालीलाई थप प्रभावकारी र पारदर्शी बनाइएको जनाएको छ।

प्रेस विज्ञप्तिअनुसार दैनिक मागअनुसार ग्यास आपूर्ति भइरहे पनि केही सञ्चारमाध्यममा अभावको समाचार आएपछि बजारमा कृत्रिम अभाव सिर्जना हुन नदिन थप व्यवस्था गरिएको हो।

निगमले सबै ग्यास उद्योगलाई बजारमा कुनै पनि प्रकारको अभाव हुन नदिन पर्याप्त आपूर्ति सुनिश्चित गर्न तथा विक्रेतालाई घरायसी उपभोक्तालाई प्राथमिकतामा राखी खरिदकर्ताको नाम, ठेगाना र सम्पर्क नम्बर अभिलेख राखेर व्यवस्थित रूपमा बिक्री–वितरण गर्न आग्रह गरेको छ।

काठमाडौं उपत्यकामा बढी माग हुने ग्यास ब्रान्डको आपूर्ति सहज बनाउन साउन १६ गतेदेखि टेकुस्थित नेपाल आयल निगमको कार्यालयबाट नेपाल ग्यास, एचपी ग्यास, एभरेष्ट ग्यास, सुगम ग्यास र श्रीराम ग्यासका सिलिन्डर सम्बन्धित उद्योगमार्फत बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म बिक्री–वितरण गर्ने व्यवस्था मिलाइएको निगमले जनाएको छ।