सुनसरीमा कर्फ्यु हट्यो, निषेधाज्ञा यथावत

अ+
अ
अ-

सुनसरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका विभिन्न क्षेत्रमा जारी गरिएको कर्फ्यु आदेश हटाएको छ। प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालद्वारा जारी सूचनाअनुसार साउन १६ गते बिहान ८ः३० बजेदेखि बेलुका ५ः०० बजेसम्म कर्फ्यु हटाइएको हो।

प्रशासनले भने स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३(क) बमोजिम तोकिएका क्षेत्रमा निषेधाज्ञा जारी राखेको जनाएको छ। निषेधाज्ञा अवधिमा एकै स्थानमा पाँच जनाभन्दा बढी व्यक्ति भेला हुन, जुलुस, प्रदर्शन, सभा, बैठक तथा धर्ना गर्न रोक लगाइएको छ।

निषेधाज्ञा इटहरी उपमहानगरपालिका–१६ र १७ तथा रामधुनी नगरपालिका–१ र ५ अन्तर्गत महेन्द्र राजमार्गको दायाँ–बायाँ २०० मिटर क्षेत्र, इनरुवा र दुहबी नगरपालिकाको सम्पूर्ण क्षेत्र तथा भोक्राहा नरसिंह, कोशी, गढी, देवानगञ्ज, हरिनगर र बर्जु गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा लागू रहने प्रशासनले जनाएको छ।

यसअघि साउन १२ गते राति ९ बजेदेखि लागू गरिएको कर्फ्यु आदेश हटाइए पनि सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै निषेधाज्ञा कायम राखिएको प्रशासनको भनाइ छ। प्रशासनले सबै नागरिकलाई निषेधाज्ञाको पूर्ण पालना गरी शान्ति, सुरक्षा र सार्वजनिक सुव्यवस्था कायम राख्न सहयोग गर्न आग्रह गरेको छ।