श्रम संस्कृति पार्टीकाे आब्हान राष्ट्रिय एकता कायम गरौं

अ+
अ
अ-

काठमाडौं। श्रम संस्कृति पार्टीले देशमा शान्ति, सामाजिक सद्भाव तथा धार्मिक सहिष्णुता कायम राख्न सबै राजनीतिक दल, धार्मिक समुदाय, नागरिक समाज र आम नेपालीलाई संयमित तथा जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरेको छ।

पार्टीका अध्यक्ष हर्क साङ्पाङद्वारा जारी ‘राष्ट्रलाई सन्देश’मा शान्ति नै सुख र खुसीको आधार भएको उल्लेख गर्दै विगतका तिता अनुभवलाई बिर्सेर सम्मान, सहिष्णुता र आपसी विश्वासका आधारमा अघि बढ्नुपर्नेमा जोड दिइएको छ।

विज्ञप्तिमा नेपाल सबै नेपालीको साझा देश भएकाले धर्म मान्ने प्रत्येक नागरिकको अधिकार सुनिश्चित हुनुपर्ने उल्लेख गरिएको छ। पार्टीले सबै धर्मप्रति समान सम्मान राख्ने आफ्नो नीति दोहोर्‍याउँदै कुनै पनि धर्मलाई नजिक वा टाढाको दृष्टिले नहेर्ने स्पष्ट पारेको छ।

हाल देखिएको धार्मिक तथा साम्प्रदायिकतालाई संवाद, सहकार्य र सकारात्मक सोचमार्फत समाधान गर्नुपर्ने आवश्यकता औंल्याउँदै सरकारले शान्ति र सुव्यवस्था कायम गर्न प्रभावकारी भूमिका खेल्नुपर्ने पार्टीको धारणा छ।

श्रम संस्कृति पार्टीले देशमा शान्ति, सद्भाव र सामाजिक एकता कायम राख्न आफू सधैं सकारात्मक सहयोगका लागि प्रतिबद्ध रहेको जनाएको छ। साथै सञ्चारमाध्यम तथा सर्वसाधारणलाई सामाजिक सद्भाव बिग्रने खालका अभिव्यक्ति र गतिविधिबाट टाढा रहन पनि आग्रह गरेको छ।