पत्रकारलाई मन्त्री महावीर पुनको आरोप: “पत्रकारहरू फटाहा भए”

+
-

काठमाडौं । शिक्षा, प्रविधि तथा नवप्रवर्द्धन मन्त्री महावीर पुनले पत्रकारहरूलाई “फटाहा” भएको टिप्पणी गरेका छन्।

शनिबार सिंहदरबारमा सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीका क्रममा पत्रकारहरूले राखेका प्रश्नको जवाफ दिन अस्वीकार गर्दै मन्त्री पुनले पत्रकारहरूप्रति असन्तुष्ट भएको भनाइ व्यक्त गरेका हुन्।

पत्रकारहरूले “मन्त्रीज्यू किन मौनव्रत बस्नुभएको हो?” र “पत्रकारहरूले सोधेका प्रश्नको जवाफ किन दिनुहुन्न?” भन्ने जिज्ञासा राखेपछि मन्त्री पुनले आफूलाई पत्रकारहरूसँग चित्त दुखेको प्रतिक्रिया दिए।

त्यसपछि सञ्चारकर्मीहरूले “किन, पत्रकारहरूले के गरे?” भनेर थप प्रश्न गर्दा उनले “पत्रकारहरू फटाहा भए” भन्ने संक्षिप्त जवाफ दिएका थिए।

पत्रकारहरूले पुनः “पत्रकारहरू किन फटा भए?” भनेर सोध्दा केही सञ्चारकर्मीले “पत्रकारहरूले नै तपाईंलाई यहाँ पुर्‍याएका होइन र?” भन्ने प्रश्नसमेत गरेका थिए। त्यसको जवाफमा मन्त्री पुनले आफू आफ्नै क्षमता र मेहनतका कारण उक्त पदमा पुगेको दाबी गर्दै त्यसमा पत्रकारहरूको कुनै भूमिका नरहेको बताए।

त्यसपछि मन्त्री पुनले थप कुनै प्रतिक्रिया नदिई त्यहाँबाट बाहिरिएका थिए। घटनासम्बन्धी भिडियो र तस्बिर सामाजिक सञ्जालमा व्यापक रूपमा साझा भइरहेका छन्।