काठमाडौं। दाहाल यज्ञनिधि सुधा सदनले यस वर्षको ‘दाहाल यज्ञनिधि पुरस्कार–२०८३’ साहित्यकार भवानी अधिकारी (मणिपुर, भारत) र चलचित्र निर्देशक नवीन सुब्बालाई प्रदान गर्ने निर्णय गरेको छ।
सदनको कार्यसमिति बैठकको निर्णयअनुसार नेपाली भाषा, साहित्य, शिक्षा तथा सञ्चार क्षेत्रमा विशिष्ट योगदान पुर्याएका भवानी अधिकारी र सीमान्तकृत समुदायमा केन्द्रित चलचित्र निर्माणमार्फत नेपाली कला तथा समावेशी संस्कृतिको विकासमा योगदान दिएका निर्देशक नवीन सुब्बालाई सम्मान गर्ने जनाइएकाे हो।
पुरस्कारअन्तर्गत प्रत्येकलाई ताम्रपत्रसहित संयुक्तरूपमा १ लाख ५० हजार नगद प्रदान गरिनेछ। दाहाल यज्ञनिधि सुधा सदनले स्वर्गीय सञ्चारकर्मी तथा साहित्यकार दाहाल यज्ञनिधिको जीवनी, व्यक्तित्व र कृतित्वलाई उजागर गर्दै सामाजिक सेवाको उद्देश्यले संस्था स्थापना गरिएको जनाएको छ। संस्थाले प्रत्येक वर्ष दाहालको स्मृति दिवसका अवसरमा विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तित्वलाई सम्मान गर्दै आएको छ।
पुरस्कार वितरण समारोह साउन २५ गते काठमाडौंको राष्ट्रिय नाचघर, जमल (माथिल्लो हल) मा आयोजना हुने जनाइएकाे छ।

