काठमाडौं । ‘असार १५ मा दही–चिउरा, श्रावण १५ मा खिर’ भन्ने उखानसँग जोडिएको यो परम्परा वर्षौंदेखि नेपाली घर–घरमा प्रचलित छ। वर्षा ऋतुमा दूध प्रशस्त हुने, हरियो घाँसका कारण गाई–भैँसीले राम्रो दूध दिने तथा पौष्टिक भोजनका रूपमा खिर खाने चलन बसेको मानिन्छ।
दूध, चामल, चिनी तथा विभिन्न मेवा–मसला मिसाएर बनाइने खिरलाई स्वादिलो र पौष्टिक परिकारका रूपमा लिइन्छ। धार्मिक रूपमा पनि साउन महिना भगवान् शिवको प्रिय महिना मानिने भएकाले दूधबाट बनेका परिकार चढाउने र परिवारसँग बसेर खिर खाने परम्परा रहेको विश्वास छ ।
लोकविश्वासअनुसार भगवान् श्रीकृष्णसँग पनि खिरको प्रसङ्ग जोडिएको पाइन्छ। विभिन्न मन्दिरमा खिर प्रसादका रूपमा वितरण गर्ने चलन रहँदै आएको छ। दक्षिण एसियाका धेरै देशमा समेत दूधबाट बनेका यस्ता परिकार धार्मिक तथा सांस्कृतिक अवसरमा खाने गरिन्छ।
श्रावण १५ लाई केवल मिठो परिकार खाने दिन मात्र नभई परिवार, आफन्त र छिमेकीसँग खुसी साटासाट गर्ने सांस्कृतिक अवसरका रूपमा पनि लिने गरिन्छ। पछिल्ला वर्षहरूमा होटल, रेस्टुरेन्ट तथा विभिन्न संघ–संस्थाले पनि विशेष खिर कार्यक्रम आयोजना गर्ने गरेका छ ।

