धनुषा । जिल्ला प्रहरी कार्यालय धनुषाले नहरचोकस्थित मन्दिर परिसरमा एक व्यक्ति मृत अवस्थामा फेला परेको घटनाबारे प्रेस विज्ञप्ति जारी गर्दै उक्त घटनालाई धार्मिक विवादसँग नजोड्न आग्रह गरेको छ।
प्रहरीका अनुसार साउन १५ गते राति मन्दिर परिसरमा करिब ४० वर्षीय बन्ठु राउत कडेरी मृत अवस्थामा फेला परेका हुन्। उनी मन्दिरका पुजारी नभई बाहिर काम गर्ने र राति मन्दिरमा सुत्न आउने व्यक्ति रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको विज्ञप्तिमा उल्लेख छ।
घटनाको जानकारी प्राप्त हुनासाथ कुकुरसहितको अनुसन्धान टोली खटाई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानका आधारमा घटना विशुद्ध आपराधिक व्यक्तिबाट भएको देखिएको भन्दै यसलाई धार्मिक विवादसँग नजोड्न र शान्ति तथा सामाजिक सद्भाव कायम राख्न सहयोग गर्न सम्पूर्ण नागरिकमा अपिल गरिएको छ।
प्रहरीले घटनामा संलग्न जो–कोही भए पनि कानुनी दायरामा ल्याई कारबाही गरिने प्रतिबद्धता समेत व्यक्त गरेको छ।


