सुनसरी । देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते भएको घटनामा मृत्यु भएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका अभिभावक र गृह मन्त्रालय बीच निम्न ६ बुँदे सहमति भएको छ।
उक्त सहमतिमा मृतकद्वयलाई नेपाल सरकारबाट शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अगाडि बढाइने तथा प्रत्येक मृतक परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराइने छ भनिएको छ। दाेस्राे बुँदामा घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीमाथि प्रचलित कानुनबमोजिम आवश्यक कारबाही गरिने , मदरसाको कानुनी हैसियत तथा सम्बन्धित विषयमा आवश्यक छानबिन हुने ,प्रत्येक मृतक परिवारका एक जना योग्य सदस्यलाई रोजगारीकाे व्यवस्था गरिने छ।
यस्तै घटनाको अध्ययनका लागि गठित छानबिन समितिले पेश गर्ने प्रतिवेदनका सुझाव तथा सिफारिसहरू प्रचलित कानुनबमोजिम कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अघि बढाइने र मृतकद्वयको सम्झनामा स्थानीय सरकारसँग समन्वय गरी उपयुक्त स्थानमा स्मृति पार्क निर्माण गरिने सम्झौता पत्रमा उल्लेख गरिएको छ।
सम्झौतापत्रमा मृतकका अभिभावक र गृहमन्त्री सुधन गुरुङले हस्ताक्षर गरेका छन्।


