काठमाडौं । प्रधानमन्त्री बालेन शाहले देशका विभिन्न स्थानमा पछिल्लो समय देखिएको हिंसात्मक तथा तनावपूर्ण घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सम्पूर्ण नेपाली नागरिकलाई शान्ति, संयम र सामाजिक सद्भाव कायम राख्न अपिल गरेका छन्।
सुनसरीबाट सुरु भई सिराहा हुँदै तराईका विभिन्न जिल्लामा फैलिएको हिंसात्मक गतिविधिपछि प्रधानमन्त्री शाहले बिहीबार आफ्नो आधिकारिक फेसबुक पेजमार्फत देशबासीका नाममा विशेष सम्बोधन गरेका हुन्। सम्बोधनमा उनले हिंसाका घटनामा ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।
प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल तथा विभिन्न माध्यमबाट फैलाइएका अपुष्ट सूचना, अफवाह र उत्तेजनात्मक सामग्रीको पछि नलाग्न नागरिकलाई आग्रह गरेका छन्। उनले सरकारी निकाय तथा राज्यका आधिकारिक संयन्त्रबाट सार्वजनिक गरिएका सूचनालाई मात्र विश्वास गर्न अनुरोध गर्दै गलत सूचना र अफवाहले समाजमा थप द्वन्द्व र अस्थिरता निम्त्याउन सक्ने चेतावनी दिएका छन्।
उनले नेपालको इतिहास विविध जाति, भाषा, धर्म र संस्कृतिका मानिसहरूबीचको आपसी सद्भाव, सहिष्णुता र भाइचाराको उत्कृष्ट उदाहरण रहेको उल्लेख गर्दै कठिन परिस्थितिमा पनि सबै नेपाली एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन्। सामाजिक एकता नै मुलुकको सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै प्रधानमन्त्री शाहले कुनै पनि समुदायप्रति घृणा, विभाजन वा हिंसालाई स्वीकार गर्न नसकिने स्पष्ट पारे।
प्रधानमन्त्रीले धर्मको मूल सन्देश प्रेम, सहिष्णुता र शान्ति रहेको उल्लेख गर्दै कुनै पनि धर्म वा समुदायको नाममा हिंसा र वैमनस्य फैलाउने कार्य स्वीकार्य नहुने बताएका छन्। उनले सरकार सबै समुदायको सुरक्षा, अधिकार र सम्मानप्रति समान रूपमा प्रतिबद्ध रहेको पनि दोहोर्याए।
सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले नेपाल सरकार, मातहतका सरकारी निकाय, सुरक्षा संयन्त्र, राजनीतिक दल तथा विभिन्न सामाजिक संघसंस्थासँग निरन्तर समन्वय गर्दै शान्ति तथा सुरक्षा कायम गर्न आवश्यक कदम चालिएको जानकारी दिए। उनले सम्बन्धित निकाय तथा स्थानीय प्रशासनलाई आफ्नो कानुनी क्षेत्राधिकारभित्र रहेर आवश्यक निर्णय लिन र प्रभावकारी रूपमा काम गर्न निर्देशन दिइसकेको पनि बताएका छन्।
सम्बोधनको अन्त्यमा उनले मधेसी समुदायलाई लक्षित गर्दै मैथिली भाषामा पनि सन्देश दिएका थिए। “हामी सबै नेपाली हौँ, एकअर्कासँग मिलेर बसौँ, शान्ति र सद्भाव कायम गरौँ,” भन्ने भाव व्यक्त गर्दै उनले सबै समुदायबीच पारस्परिक सम्मान, विश्वास र राष्ट्रिय एकता कायम राख्न आह्वान गरेका छन्।

