काठमाडौ । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-१ स्थायी घर भई हाल बनेपा–८ मा बसोबास गर्दै आएका गीतकार नवराज रायमाझी विद्यार्थी जीवनदेखि नै साहित्यप्रति आकर्षित थिए। विद्यालय पढ्दादेखि कविता लेख्न थालेका उनले एस.एल.सी.पछि रोजगारीमा व्यस्त हुँदा केही समय साहित्यिक यात्रालाई निरन्तरता दिन सकेनन् ।
करिब डेढ वर्षअघि रोजगारीका क्रममा एक वर्ष विदेश बस्दा उनले फुर्सदको समयलाई सिर्जनामा रूपान्तरण गर्ने निर्णय गरे। त्यही अवधिमा उनले ५० भन्दा बढी कविता लेख्दै एउटा कविता सङ्ग्रहको पाण्डुलिपि तयार गरे। साथै आधुनिक, लोक, तीज र भजन गरी एक दर्जनभन्दा बढी गीत पनि सिर्जना गरे ।
नेपाल फर्किएपछि उनले आफ्ना गीतहरू रेकर्ड गराउन थाले। हालसम्म उनका तीन वटा गीत रेकर्ड भइसकेका छन्। पहिलो गीत ‘पैसा’ मा स्वर गायक परेश राईको रहेको छ भने सङ्गीत राजकुमार बगरले गरेका हुन्। यो गीत विशेषगरी आर्थिक अभावका कारण विदेशिन बाध्य नेपालीहरूको पीडा र समाजमा पैसाले निर्धारण गर्ने सम्बन्धका यथार्थलाई चित्रण गर्ने भएकाले दर्शक-श्रोतामाझ लोकप्रिय बनेको उनले बताए।
उनको दोस्रो गीत ‘तीजमा ननाचे कहिले नाच्ने हो’ तीज पर्वलाई लक्षित गरी तयार गरिएको छ। यसमा उदीयमान गायिका प्रयुसा न्यौपानेको स्वर रहेको छ भने सङ्गीत वरिष्ठ सङ्गीतकार महेश खड्काले भरेका छन्। गीतको म्युजिक भिडियो पनि तयार भइसकेको छ। भिडियोमा नायकका रूपमा स्वयं नवराज रायमाझी देखिएका छन् भने नायिकाको भूमिकामा आयुष्मा कार्कीले अभिनय गरेकी छन् । पारिवारिक र सभ्य शब्दमार्फत तीजको मौलिक संस्कृतिलाई प्रस्तुत गर्ने प्रयास गरिएको उनको भनाइ छ।
तेस्रो गीत ‘मनको तलाउ’ पनि रेकर्ड भइसकेको छ। यसमा पुरुष स्वर राजेश पायल राई र महिला स्वर समिक्षा अधिकारीको रहेको छ। यो गीतको म्युजिक भिडियो पनि छिट्टै निर्माण गर्ने तयारी भइरहेको उनले जानकारी दिए।
रायमाझीका अनुसार उनका गीतहरू कुनै एक धारमा सीमित छैनन्। समाजमा देखिएका विकृति–विसङ्गति, जनचेतना, प्रेम, पारिवारिक सम्बन्ध, युवापुस्ताका भावना तथा संवेदनशील विषयलाई उनले गीतमा स्थान दिएका छन्। ‘पैसा’ जस्तो सामाजिक सन्देशमूलक गीतदेखि प्रेम र भावनात्मक कथामा आधारित आधुनिक गीतसम्म उनले सिर्जना गरेका छन्।
उनका अनुसार हाल रेकर्डिङका लागि तयार अवस्थामा करिब १०-१२ वटा गीत छन्। तीमध्ये ‘अभावको भारी’ शीर्षकको जनवादी गीतले समाजका असमानता र विकृतिलाई उठान गर्छ भने ‘टुटेको दिल’ नामक गीतले पारिवारिक सम्बन्ध, उपेक्षा र भावनात्मक पीडालाई अभिव्यक्त गर्छ। नेपाली गीतसँगै केही हिन्दी गीत पनि उनले लेखिरहेका छन्, जसमा ‘मेरा प्यार’ शीर्षकको गीतसमेत समावेश छ।
आगामी दिनमा समाजलाई सकारात्मक सन्देश दिने, जनजीवनका यथार्थ बोल्ने र श्रोताको मन छुने सिर्जना निरन्तर सार्वजनिक गर्ने लक्ष्य रहेको गीतकार नवराज रायमाझीकाे रहेको छ।
गीतकार नवराज रायमाझीले आगामी दिनमा पनि विविध विषयवस्तुमा आधारित गीतहरू श्रोतामाझ ल्याउने तयारी गरिरहेको बताए। उनका अनुसार ‘मुटुको चाल’ बोलको प्रेमगीत पनि तयार भइसकेको छ, जसमा प्रेमको अनुभूति र भावनात्मक सम्बन्धलाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ। गीतका शब्दमा “ढुकढुक गर्ने मुटुको चाल, हेर न कस्तो मायाको छाल” भन्ने भाव समेटिएको उनले बताए ।
त्यस्तै, ‘दिलमा चोट लागेपछि’ शीर्षकको अर्को गीतले मानिसको जीवनमा आउने भावनात्मक पीडा र सम्बन्धमा हुने चोटलाई चित्रण गरेको छ। उनका अनुसार जीवनमा विभिन्न परिस्थितिले मानिसलाई चोट पुर्याउँछ, तर मनमा लागेको चोट सजिलै निको हुँदैन। त्यसैले एकअर्काको भावनाको सम्मान गर्नुपर्छ भन्ने सन्देश यस गीतमार्फत दिन खोजिएको छ।
रेकर्ड भइरहेकाे ‘मनको तलाउ’ लगायत अन्य गीतहरू पनि क्रमशः सार्वजनिक गरिने उनले जानकारी दिए। उनका अनुसार अहिले पनि विभिन्न विधाका नयाँ गीत लेख्ने काम निरन्तर जारी छ।
दर्शक–श्रोताप्रति सन्देश दिँदै आफ्ना गीतहरू गाउँघर, समाज र आम मानिसको वास्तविक भोगाइमा आधारित रहेको उनकाे दावी छ। बालबालिकादेखि युवा र ज्येष्ठ नागरिकसम्म सबैले आफ्नोपन महसुस गर्ने विषयवस्तु समेट्ने प्रयास गरिएको उनको भनाइ छ।
उनले आफ्ना गीतहरू सुनेर र हेरेर दर्शक–श्रोताले निष्पक्ष सुझाव र प्रतिक्रिया दिन आग्रह गरे। दर्शक तथा स्राेताकाे सल्लाह, प्रेरणा र हौसलाले आगामी सिर्जनालाई अझ परिस्कृत बनाउन मद्दत पुग्ने छ।,” उनले भने।
(रायमाझीसँग गरिएको कुराकानीमा आधारित )

