काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कोशी र मधेस प्रदेशका पार्टीका सांसदहरूलाई आफ्नो-आफ्नो जिल्लामा पुगेर सामाजिक सद्भाव कायम गर्न सक्रिय भूमिका खेल्न निर्देशन दिएका छन्।
हालै विकसित घटनाक्रम र बढ्दो सामाजिक तनावलाई ध्यानमा राख्दै सभापति लामिछानेले कोशी र मधेस प्रदेशका सांसदहरूसँग छलफल गरेका थिए। छलफलका क्रममा उनले जिल्लामा गएर स्थानीय जनप्रतिनिधि, प्रशासन तथा सरोकारवालासँग समन्वय गर्दै शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न भूमिका खेल्न आग्रह गरेका हुन्।
उनले कुनै पनि प्रकारको उत्तेजना, हिंसा वा साम्प्रदायिक विभाजनलाई बढावा नदिई संयमता अपनाउन तथा नागरिकबीच आपसी विश्वास र सद्भाव कायम राख्न सबैलाई प्रेरित गर्न सांसदहरूलाई निर्देशन दिएको रास्वपाका स्रोतले जनाएको छ।रास्वपाले पछिल्ला घटनाप्रति संवेदनशील रहँदै सामाजिक सद्भाव र शान्ति कायम राख्न पार्टी सदस्यहरुलाई जिम्मेवार बन्न आग्रह गरेको छ।

