“बालेनलाई साथ दिन तयार छु´´- संयाेजक प्रचण्ड

+
-

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारलाई सफल बनाउन आफू र आफ्नो पार्टी सहयोग गर्न तयार रहेको बताएका छन्।

बिहीबार संघीय संसदको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले सरकारलाई विपक्षी दल तथा अग्रज नेताहरूको सुझाव र अनुभवलाई पनि सम्मानपूर्वक सुन्दै अघि बढ्न आग्रह गरे। उनले नेपाली उखान “कुरो सुन्नु बुढाको, आगो ताप्नु मुढाको” स्मरण गराउँदै अनुभव र सहकार्यलाई बेवास्ता नगर्न सरकारलाई सुझाव दिए।

उनले वर्तमान सरकारलाई असफल बनाउने उद्देश्यका साथ कतैबाट चालबाजी भइरहेको हो कि भन्ने आशंका पनि व्यक्त गरे। यस्तो अवस्थामा सरकार अझ सचेत, जिम्मेवार र समन्वयात्मक ढंगले अघि बढ्नुपर्ने उनको भनाइ थियो।

प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुरु गरेको सहकार्यको अभ्यासलाई सकारात्मक भन्दै त्यसप्रति खुसी व्यक्त गरे। उनले दलहरूबीच सहकार्य र संवादको संस्कृति बलियो बनाउँदै देशको हितमा अघि बढ्नुपर्ने आवश्यकता औँल्याए।

संसदमा बोल्दै प्रचण्डले वर्तमान सरकारलाई असफल हुने कुनै छुट नभएको स्पष्ट पार्दै सरकार सफल बनाउन आफ्नो पार्टीले पूर्ण सहयोग र समर्थन गर्ने प्रतिबद्धता पनि व्यक्त गरे। उनले राष्ट्रिय हित, राजनीतिक स्थिरता र सुशासनका लागि सबै राजनीतिक शक्तिहरूबीच सहकार्य अपरिहार्य रहेको उनको भनाइ थियो।