काठमाडौ। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले नेपालमा सुरक्षा चुनौती बढ्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन्।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद तामाङले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले अन्तर्राष्ट्रिय शरणार्थीहरूको नेपाल प्रवेश बढ्दै गएको भन्दै व्यक्त गरेको चिन्ताप्रति सरकारको धारणा मागिन्।
उनले आईजीपी कार्कीले रोहिङ्ग्या, पाकिस्तानी तथा सोमाली शरणार्थीहरू खुला सीमाको प्रयोग गर्दै नेपाल प्रवेश गर्ने क्रम बढेको र यसले सुरक्षा चुनौती थपिएको बताएकाे स्मरण गराइन्। प्रहरी प्रशासनले यस विषयमा विशेष सतर्कता अपनाएको जानकारी पनि आईजीपीले दिएका थिए।
सांसद तामाङले आईजीपीको उक्त अभिव्यक्तिको भोलिपल्ट नै हिंसात्मक घटना भएको उल्लेख गर्दै त्यसको कारणबारे सरकारसँग स्पष्ट जवाफ मागिन्। उनले सुरक्षा संवेदनशील विषयमा सरकार गम्भीर बन्नुपर्ने र यस्ता घटनाको वास्तविक कारण सार्वजनिक गर्न आग्रह गरिन्।

