राष्ट्रिय सुरक्षा परिषद्को बैठक क्षेत्रीय सुरक्षा सतर्कता बढाउन निर्देशन

+
-

काठमाडौं, साउन १५ — प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्षको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद्को ४३औँ बैठक सम्पन्न भएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री, परराष्ट्रमन्त्री, गृहमन्त्री, मुख्य सचिव, प्रधानसेनापतिलगायत उच्च पदाधिकारीहरूको सहभागिता रहेको थियो।

बैठकले देशको समग्र सुरक्षा अवस्थाको समीक्षा गर्नुका साथै साउन १० गते सुनसरी जिल्लामा भएको घटनाबारे विस्तृत छलफल गरेको छ। आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन सुरक्षा निकाय तथा सरोकारवाला निकायबीच प्रभावकारी समन्वय गर्दै सामाजिक सद्भाव र राष्ट्रिय एकताको भावना कायम राख्न आवश्यक कदम चाल्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ।

रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्माका अनुसार बैठकमा राष्ट्रिय, अन्तर्राष्ट्रिय तथा क्षेत्रीय सुरक्षा अवस्थाको समीक्षा गर्नुका साथै देशमा पछिल्लो समय भएका घटनाक्रमबारे पनि विस्तृत छलफल गरिएको थियो।

यस्तै, विपद् जोखिमलाई मध्यनजर गर्दै सम्बन्धित निकायहरूबीच समन्वय गरी खोज, उद्धार तथा राहतका कार्यलाई थप प्रभावकारी रूपमा सञ्चालन गर्न पनि बैठकले निर्देशन दिएको छ।

राष्ट्रिय सुरक्षा परिषद्का सचिवालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार बैठकले देशको शान्ति, सुरक्षा र विपद् व्यवस्थापनलाई थप सुदृढ बनाउन सम्बन्धित निकायहरूलाई आवश्यक निर्देशन दिएको छ।