काठमाडौं । केही दिनयता काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागमा राहदानी (पासपोर्ट) बनाउन आउने सेवाग्राहीको संख्या उल्लेख्य रूपमा बढेको छ। विशेषगरी उच्च शिक्षा र वैदेशिक रोजगारीका लागि विदेश जाने तयारीमा रहेका युवाहरू राहदानी बनाउन विभाग पुगेपछि दैनिक भीड बढेको हो।
राहदानी विभागले दैनिक करिब १,५०० वटा राहदानी छापिने जनाएको भए पनि विभाग परिसरमा देखिएको भीडले उक्त संख्या मागअनुसार पर्याप्त नभएको संकेत गरेको छ। आवेदन दिने र राहदानी लिन आउने सेवाग्राहीको चापका कारण विभागमा लामो लाइन र प्रतीक्षा बढेको देखिन्छ।
यसपटक रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरियामा रोजगारीका लागि आवेदन खुल्नुलाई राहदानी बनाउनेको चाप बढ्नुको मुख्य कारण मानिएको छ। ईपीएस कोरिया अन्तर्गत जुलाई २८ देखि अगस्ट २ सम्म आवेदन खुला भएपछि राहदानी नभएका तथा नवीकरण गर्नुपर्ने युवाहरू ठूलो संख्यामा विभाग पुगेका हुन्।
विभागले सेवाग्राहीलाई अनलाइनमार्फत समयमै आवेदन दर्ता गर्न तथा आवश्यक कागजात पूरा गरेर मात्र कार्यालय आउन आग्रह गरेको छ। अधिकारीहरूले बढ्दो चापलाई व्यवस्थापन गर्न सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने प्रयास भइरहेको बताएका छन्।

