सरकार दुरविनबाट नागरिक देखिदैन,बाहिर आउनुहाेस्- सांसद राई

अ+
अ
अ-

काठमाडौं । राष्ट्रिय श्रम संस्कृति पार्टीका सांसद आरेन राईले प्रधानमन्त्री बालेन शाहले संसदमा दिएको सीमा विवादसम्बन्धी अभिव्यक्ति प्रतिनिधिसभाको रेकर्डबाट हटाउन पुनः दोस्रो पटक माग गरेका छन्।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद राईले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति सच्याउन सरकारसँग आग्रह गर्दै भने, “संसदमा रेकर्ड भएको प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन र हटाउन दोस्रो पटक भनिरहेको छु। अब म कति पटक भनूँ?”

सुनसरी घटनापछि सरकार मौन बसेको आरोप लगाउँदै उनले सरकारलाई जनतामाझ आउन आग्रह गरे। “सरकार कहाँ हुनुहुन्छ? बाहिर निस्कनुपर्‍यो। कालो कोठाभित्र बसेर दुरबिनले नागरिक देखिँदैन, बाहिर आएपछि मात्रै जनताको पीडा देख्न सकिन्छ,” उनले भने।

सांसद राईले नेपालका सबै नागरिक दाजुभाइ भएको उल्लेख गर्दै जात, जाति, धर्म र समुदायबीच एकता, सद्भाव र संयम कायम राख्न आग्रह गरे। “हामी सबै नेपाली एउटै बगैँचाका फूल हौँ,” भन्दै उनले सामाजिक सद्भाव कायम राख्न सबैलाई आह्वान गरे।

उनले सञ्चार माध्यमलाई “स्थायी सरकार” को संज्ञा दिँदै सरकारका गलत कामप्रति निरन्तर खबरदारी गर्न आग्रह गरे। “हामी त पाँच वर्षका लागि जनप्रतिनिधि हौँ, तर कलम कहिल्यै बन्द हुँदैन। सञ्चार माध्यम नै देशको स्थायी सरकार हो,” भन्दै प्रशंसा गरे ।