इनरुवा । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै बुधबार सर्वपक्षीय बैठक सम्पन्न भएको थियो । बैठकले जिल्लामा शान्ति, सामाजिक सद्भाव र अमनचयन कायम राख्न पाँच बुँदे संयुक्त प्रतिबद्धता सार्वजनिक गरेको हो।
बैठकमा संघीय सांसद लालविक्रम थापा र दीपककुमार साह, जिल्ला समन्वय समिति, स्थानीय तहका प्रमुख तथा अध्यक्ष, जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
निर्णयअनुसार घटनापछि विभिन्न क्षेत्रमा देखिएको सामुदायिक विवाद, हिंसा तथा अराजक गतिविधिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै त्यस्ता गतिविधि रोक्न सबै पक्षले आफ्नो स्थानबाट आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका छन्।
त्यसैगरी, समस्या समाधानका लागि आक्रोश, प्रतिशोध र उत्तेजनाभन्दा संयम, विवेक र संवादको मार्ग अपनाउन तथा आम नागरिकलाई पनि संयमित रहन आग्रह गरिएको छ।
बैठकले सामाजिक सञ्जालमा भ्रामक, उत्तेजक तथा अराजक सामग्री पोस्ट वा शेयर नगर्न र आधिकारिक सूचनामात्र विश्वास गर्न सबैसँग अनुरोध गरेको छ। साथै, भिड तथा झडपमा युवाहरूको संलग्नता रोक्न अभिभावकलाई आफ्ना बालबालिका तथा युवामाथि विशेष निगरानी राख्न र अनावश्यक रूपमा घरबाहिर ननिस्कन सचेत गराउन पनि आग्रह गरिएको छ।
सर्वपक्षीय बैठकले शान्ति, सद्भाव र कानुनी शासन कायम राख्न सबै पक्षको साझा सहकार्य आवश्यक रहेको भन्दै बिहीबार सर्वदलिय बैठक बस्ने निर्णय गरेको छ।

