भुम्लु, — काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकामा पालिका स्तरीय विपद् व्यवस्थापन समितिको बैठक बुधबार सम्पन्न भएको छ।
बैठकमा स्थानीय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका विविध विषयमा विस्तृत छलफल गरिएको थियो। विपद् व्यवस्थापनका लागि आवश्यक मेसिन तथा सामग्रीको प्रयोग, आवश्यक जनशक्ति परिचालन तथा विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उपायबारे समितिले समीक्षा गरेको जनाएको छ।
त्यसैगरी, पालिका स्तरीय विपद् व्यवस्थापन समितिको कार्ययोजनाअन्तर्गत मनसुनका कारण क्षतिग्रस्त घरहरूको यथार्थ विवरण संकलन गरी DDA (Detailed Damage Assessment) सर्वेक्षण सञ्चालन गर्ने, आवश्यक बजेट व्यवस्थापन गर्ने, विपद् व्यवस्थापनका लागि आवश्यक सामग्री खरिद गर्ने तथा प्रभावित परिवारलाई राहत वितरण गर्ने विषयमा पनि निर्णय गरिएको छ।
बैठकमा विपद्को समयमा छिटो, प्रभावकारी र समन्वयात्मक रूपमा उद्धार तथा राहत कार्य सञ्चालन गर्ने विषयमा समेत जोड दिइएको थियो। साथै, विविध समसामयिक विषयमा समेत छलफल भएको गाउँपालिकाले जनाएको छ।


