काठमाडौं । धार्मिक सहिष्णुता, राष्ट्रिय एकता तथा सामाजिक सद्भाव प्रवर्द्धन गर्ने उद्देश्यले बबुधबार काठमाडौंको माइतीघर मण्डलामा हिन्दू–मुस्लिम समुदायको संयुक्त सद्भाव र्याली भएको छ।
मानवअधिकारसम्बन्धी संस्थालगायत विभिन्न हिन्दू र मुस्लिम धार्मिक सङ्गठनको आयोजनामा निकालिएको र्यालीमा दुवै समुदायका धर्मगुरु, अगुवा तथा सर्वसाधारणको सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै मुस्लिम समुदायका वक्ताहरूले ‘वसुधैव कुटुम्बकम्’को भावना हिन्दू संस्कृतिबाट आएको उल्लेख गर्दै यसले सम्पूर्ण मानवजातिलाई समान दृष्टिले हेर्ने सन्देश दिने बताए। उनीहरूले धर्मभन्दा माथि राष्ट्रिय एकता महत्वपूर्ण रहेको भन्दै “हामी सबै नेपाली दाजुभाइ हौं” भन्ने भावनालाई बलियो बनाउनुपर्नेमा जोड दिए।
त्यसैगरी हिन्दू धर्मगुरुहरूले मुस्लिम समुदायसँगको सहकार्यले समाजमा शान्ति, सद्भाव र आपसी विश्वास अभिवृद्धि हुने विश्वास व्यक्त गरे। दुवै समुदाय एकताबद्ध भएर अघि बढेको देख्दा आफूहरू अत्यन्त खुसी हुन सक्ने उनीहरूको भनाइ थियो।
र्यालीमा सहभागीहरूले नेपाल बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक भएकाले कुनै पनि जात, धर्म वा समुदायका आधारमा विभाजन नगरी आपसी सम्मान, धार्मिक सहिष्णुता, राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम गर्दै अघि बढ्नुपर्नेमा जोड दिएका थिए।


